गौशाला, १५ चैत । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा दुई वटा रात्रिबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट विराटनगरका लागि छुटेको ना५ख ७१८९ नम्बरको रात्रिबसले बर्दिबास नगरपालिका–११ मा विपरीत दिशाबाट उखु बोकेर आइरहेको ज१त ७०८९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा बसमा सवार ११ जना यात्रु घाइते भएको बताइएको छ ।
घाइतेमध्ये काठमाडौँका कुमार श्रेष्ठ र सुनसरीका सुलभ राईको अवस्था चिन्ताजनक रहेकाले दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । नौ जना घाइतेको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल र जनसेवा क्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौँबाट धरानका लागि गइरहेको ना५ख ९१३५ नम्बरको बस बर्दिबासको सोही स्थानमा सडकबाट तल पल्टिन जाँदा तीन जना यात्रु घाइते भएका र उनीहरुको उपचार पनि बर्दिबासस्थित स्थानीय अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

Post a Comment

 
Top